पोखरा ।
दुई वर्ष सात महिना अगाडि पार्टी एकता पछि दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपा आज (मंगलबार)बाटै औपचारिक विभाजनतर्फ जाने निश्चित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने उद्देश्यले मंगलबार केन्द्रीय कमिटी आह्वान गरेका छन् ।

दुवै पक्षको केन्द्रीय कमिटी बैठकले मंगलबार पार्टी विभाजनका लागि औपचारिकता पूरा गर्नेछ । त्यस निम्ति ओली पक्षले प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले सोमबार सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारीसमेत लगभग पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र अर्कोतर्फबाट केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यले स्थान र समयको सूचित गरिसकेका छन् ।
बैठकका लागि उपत्यकाबाहिर रहेका दुवै पक्षका केन्द्रीय सदस्य काठमाडौंमा भेला हुँदै छन् । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ । तर, गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई साथ नदिएको अवस्थामा भने पूर्वमाओवादी समूहको संख्या तलमाथि हुनेछ ।
आइतबार बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकको निर्णयअनुसार ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ । निर्णयलगत्तै त्यसको जानकारी निर्वाचन आयोगलाई दिने तयारी छ ।
स्थायी कमिटीले अनुशासनको कारबाही गर्न प्रस्ताव गरेको निर्णयसहितको पत्र नेता लीलामणि पोखरेलले सोमबार निर्वाचन आयोगको कार्यालयमा बुझाएका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पोखरेलले गरेको कुराकानीका आधारमा केन्द्रीय कमिटीको बहुमत सदस्यले कारबाही गरेको हस्ताक्षरसहितको पत्र आयोगबाट माग भएको ब्रिफिङ गरेका छन् । केन्द्रीय कमिटीको बहुमत सदस्यको कारबाहीसहितको निर्णय जानकारी गराएमा नेकपाले नै वैधानिकता प्राप्त गर्ने विद्यमान निर्वाचन कानुन रहेकोसमेत आयोगले जानकारी गराएको प्रचण्डले सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।
उता, प्रधानमन्त्री ओली पक्षले पनि मंगलबार डाकिएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष प्रचण्डमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गर्ने तयारी गरेको छ । तर, ओली पक्षले केन्द्रीय कमिटीमा बहुमत नपुग्ने निश्चित देखिएपछि नेकपा दुई अध्यक्षात्मक प्रणालीमा रहेको र एउटा पक्षले अलग्गै बैठक गरेर अनुचित निर्णय लिएकाले एकता भंग हुने दलिलसहित कारबाहीपछि निर्वाचन आयोगमा पत्राचार गर्ने तयारी गरेको छ ।
ओलीपक्षीय नेताहरूले एकता भंगलाई आयोगले मान्यता दिएपछि नेकपा औपचारिक रूपमै तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा रहने बताइरहेका छन् । त्यसअनुसार पार्टीको चुनाव चिह्न सूर्य र पार्टी कार्यालय धुम्बाराही नै हुने दाबीसमेत गर्दै आएका छन् ।
सोमबारको सांसदहरूको भेलामै प्रधानमन्त्री ओलीले त्यसको प्रस्ट संकेत दिएको सहभागी एक नेताले बताए । ओलीको पक्षमा केन्द्रीय कमिटीमा एक सय ४० देखि एक सय ४५ सदस्य रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :