पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्कर्षमा पुगेको विवाद, राजावादीहरुको देशका विभिन्न ठाउँमा भएको प्रदर्शन, कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावका बीच आयोजना गरिएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईका अनुसार अनुसार पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । सर्वदलीय बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
यस्तै पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शन गर्दै आएको विषयमा पनि छलफल हुनेछ । यसअघि ३१ वैशाखमा भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरेका थिए ।
Discussion about this post