पोखरा, ८ मंसिर ।
गण्डकी प्रदेशसभामा लेखा समितिका सभापति कुमार खड्काले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जनताको भन्दा बालुवाटारमा सत्ता टिकाउने चिन्ता धेरै रहेको टिप्पणी गरेका छन् ।

सोमबार कास्की क्षेत्र नम्बर २ (ख)को पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ययस्तो टिप्पणी गरेका हुन् ।
कोरोना संक्रमणबाट जनता जोगाउन सरकार जिम्मेवार नभएकाले आवश्यक परे प्रदेशसभाको विशेष अधिवेशन बोलाएरै भएपनि जिम्मेवार बन्न लगाउने उनको उद्घोष छ ।
‘कोरोनामा जनता बचाउने भन्दा पनि बालुवाटारमा सरकार बचाउने काममा मुख्यमन्त्री लागिरहनुभएको छ । सायद यतिबेला उहाँ बालुवाटरमै सुतिरहनु भएको हुन सक्छ । उहाँको काठमाडौंमा समस्या समाधान भएर पोखरा आएपछि वार्ता गरेर वार्ताबाट सबै कुराको सम्बोधन गर्नुभयो भने संसदको विशेष अधिवेशन बोलाउन परेन । नत्र विशेष अधिवेशन बोलाएर भएपनि साझा सत्रु(कोरोना) संग लड्न हामी तयार छौं’ उनले भने ।
विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसद चाहिने र त्यो सुविधा गण्डकी प्रदेशमा मात्र कांग्रेसलाई रहेको उनले बताए । ‘विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसद चाहिन्छ । अरु ६ वटा प्रदेशमा त्यो सुविधा जनताले कांग्रेसलाई दिएका छैनन् । गण्डकी प्रदेशमा मात्र यो सुविधा छ । हामी यसको उपयोग गर्ने विषयमा छलफल गरिरहेका छौं । विशेष अधिवेशन माग गरेर भएपनि सरकारलाई जिम्मेवार बनाउँछौं’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस् :