पोखरा ।
उपमेयर मञ्जुदेवि गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् ।

आइतबार देखि सिमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ । शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ ।
महानगरपालिका कार्यालयका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।
अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको बताए ।
महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बोर्ड बैठक बसेको हो ।
प्रतिक्रिया लेख्नुहोस् :